सलाम छ शाहसिक महिला बस चालक लाई :हेर्नुहोस उहाको सुखदु:खका कुरा

काठमाडौँ– नाडीमा हरियो–पहेँलो रंगका चुरा। हत्केला ढाकिने गरी लगाएको मेहन्दीको रंग। त्यही चुरा र मेहन्दीले सजिएका हातले गाडीको स्टेरिङ घुमाउँदै थिइन्। हँसिलो अनुहारकी उनी साझा यातायातकी चालक हर्मिता श्रेष्ठ हुन्।

 

उनको जन्म २०३५ सालमा धरानको भानुचोकस्थित भएको हो। उनका बुवाआमा खेती किसानी गर्थे। परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनी। उनी साइँली छोरी।

 

परिवार ठूलो भएका कारण घरायसी समस्या आइरहन्थे। विद्यालय जान्थिन्, फुर्सदको समयमा बुवाआमालाई काममा सहयोग गर्थिन्। उनले कक्षा १० सम्म पढेकी छन्।

 

साझा यातायातकी बसचालक हर्मिता।

धेरै पढेर डाक्टर या इन्जिनियर बन्ने त्यस्तो कुनै चाहना थिएन। तर ठूलो भएपछि चालक बन्ने रहर भने थियो।

 

कसरी चालक बन्ने सोच पलायो भन्ने प्रश्नमा उनले भनिन्, ‘हाम्रो घरमा मारुती भ्यान थियो। ड्राइभरले त्यो चलाएको देख्दा आफूलाई पनि चलाउने रहर लाग्थ्यो।’

 

१३ वर्षको उमेरदेखि नै उनले भ्यान चलाउन सिकेकी हुन्। भ्यान चलाउन सिकेपछि भ्यान बाहिर पनि लाने गर्थिन्। यसले गर्दा उनमा रहेको चालक बन्न इच्छा थप बढ्दै गयो।

 

सबैले भविष्यमा केही न केही बन्ने सोच बनाएका हुन्छन्। हर्मिताले चालक बन्ने सोच बनाएकी थिइन्। उनी भन्छिन्, ‘गाउँमा बस चढ्दा कसरी बस चलाएको होला, मैले पनि यसरी नै बस चलाउन पाए हुन्थ्यो भन्ने सोच्थेँ।’

 

काठमाडौँ आएपछिको यात्रा

 

झण्डै २४ वर्ष अघि उनी काठमाडौँ घुम्न भनेर छिरेकी थिइन्। राजधानीमा उनी आफन्तकोमा बसिन्।

 

काठमाडौँ बसेको एक वर्ष भएको थियो, उनको विवाह भयो। विवाहपछि उनी श्रीमानसँग सिन्धुपाल्चोक गइन्। केही समय त्यहाँ बसेर उनी पुनः श्रीमानसँगै काठमाडौँ पसिन्।

 

विवाहपछि पारिवारिक जिम्मेवारी बढ्दै जान्छन्। श्रीमान एक्लैको कमाइले मात्र नपुगेपछि उनी पनि कामको खोजीमा लागिन्। उनले भनिन्, ‘जीवन चलाउन न केही त गर्नु पर्‍यो नि।’

 

जागिर खोज्ने सिलसिला जारी नै थियो। यति समयसम्म उनी एक सन्तानकी आमा बनिसकेकी थिइन्। उनले हनुमानढोकामा सिलाइबुनाइको काम सिकिन्। उनले कम ज्याला भएकाले कामलाई निरन्तरता भने दिन सकिनन्।

 

‘मेहनत बढी आम्दानी कम हुने के गर्नु। यही काम पुरुष पनि गर्छन् तर ज्याला हामी भन्दा धेरै पाउँछन्। काम एउटै तर ज्याला फरक। त्यसै माथि महिलालाई गर्ने व्यवहार पनि।’ यस्तो प्रवृत्तिले सिलाइबुनाइको काम छोडेको उनले सुनाइन्।

 

यसपछि उनले सानैदेखिको सपना पूरा गर्ने अर्थात चालक बन्ने सोच बनाइन्। यसै सिलसिलामा उनले टेम्पो चलाउने निर्णय गरिन्। उनले दुई दिनमा टेम्पो चलाउन सिकिन्। टेम्पो चलाउनका लागि लाइसेन्स निकाल्नुपर्‍यो। ट्रायल दिइन् तर उनले झ्यालबाट हेरेका कारण पहिलो पटकमा ट्रायल पास भइनन्। अर्को पटकको प्रयासमा उनी पास भइन्। ‘जसरी नि काम गर्न थियो। बिना लाइसेन्स सडकमा कसरी गाडी कुदाउनु,’ उनले भनिन्।

 

लाइसेन्स लिइसकेपछि काठमाडौँको एनएसी–चावहिल–जोरपाटी रुटको टेम्पो चलाउन थालिन्। टेम्पो चलाउँदा पनि त्यति सहज थिएन। सडकको अवस्था नाजुक थियो। तर पनि परिवारको खर्च धान्न उनले टेम्पो चलाइरहिन्।

 

टेम्पोबाट राम्रो आम्दानी हुन्थ्यो। घर भाडा, छोरा र आफूलाई टेम्पोको आम्दानीले पुग्ने गरेको थियो। दुई वर्ष टेम्पो चलाएपछि उनलाई अरु गाडी चलाउने इच्छा जाग्यो। त्यसपछि यही क्रममा उनी २०५९ सालतिर राष्ट्रिय महिला आयोगका अध्यक्ष दुर्गा पोखरेलको गाडी चालक बनिन्।

 

उनी सरकारी कार्यालयमा सवारी साधन चलाउने पहिलो महिला कर्मचारीका रुपमा चिनिइन्। अहिले पनि त्यो समय सम्झिँदा उनी दंग पर्छिन्।

 

उनले हाँस्दै भनिन्, ‘त्यो सम्झना बिर्सन सक्दिन। मैले पहिलो पटक सरकारी कार्यालयमा महिला चालक भएर काम गरेकी थिएँ।’

 

त्यो समयमा धेरै पत्रपत्रिका पढ्थिन् उनी। ‘एकदिन पत्रिका हेरिरहेकी थिएँ, संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयका लागि सवारी चालकको माग भएको देखेँ’, उनले सुनाइन्।

 

उनले भनिन्, ‘महिला र पुरुष चाहिएको तथा बराबरी नम्बर ल्याएमा महिलालाई प्राथमिकता दिइने लेखेको थियो पत्रिकामा।’ उनले त्यहाँ जाने कोसिस गरिन्।

 

उनी थप्छिन्, ‘शायद समयले साथ दिएर होला त्यहाँ पनि पहिलो महिला चालक कर्मचारीको रुपमा काम पाएँ।’

 

उनी काम गर्दा लगनशील भएर काम गर्ने र जस्तो सुकै जोखिम उठाउन पनि तत्पर रहन्छिन्। काठमाडौँका सडकमा टेम्पो हाँकेकी उनले सो संस्थामा आबद्ध भएपछि विकट ठाउँसम्म पुगिन्।

 

झरी परेको समयमा यात्रा गर्ने क्रममा बाटोमा पहिरो जाँदा धेरै पटक अलपत्र परेको उनले सुनाइन्। ‘डोजर बोलाएर बाटो मिलाउने क्रममा माथिबाट ढुङ्गा झर्ने हो या पहिरो जाने हो, मनमा डर खेल्थ्यो’, विगत सम्झिँदै उनले भनिन्।

 

यसरी गाडी लिएर बाहिर जाँदा उनले छोरा घरमै छोड्नु पर्थ्यो। सम्झनाले पिरोल्थ्यो। उनी भन्छिन्, ‘आखिर यात्रामा हिँडेपछि गन्तव्यसम्म पुर्‍याउनुपर्‍यो, सन्तानकै लागि त गरिरहेकी छु भन्दै अघि बढ्थेँ,’ उनले सो संस्थामा १५ वर्ष काम गरिन्।

 

१५ वर्षको जागिरले हर्मिताले चोभारको पाण्डे छापमा दुई तलेको घर जोडिन्।

 

उनले त्यसपछि दोस्रो सन्तानका रुपमा छोरी जन्माइन्। करिब चार महिना आराम गरेपछि काठमाडौँ र काकँडभिट्टा रुटको माइक्रोको चालक बनिन् उनी। उनका श्रीमान् विदेशमा बसोबास गर्छन्।

 

साझा बसको यात्रा

साझा यातायातको बस चलाउन लागेको एक महिना भयो।

 

उनले गाडी चलाउन लागेको वषौँ भए पनि ठूलो गाडी (साझा यातायात) चलाउन लागेको एक महिना हुन लागेको छ। साझा यातायातले बस थप्दै छ भन्ने कुरा थाहा पाएपछि आफू पनि आएको सुनाइन्। ‘नाम निस्किन्छ कि भनेर कोसिस गरेकी थिएँ। महिलालाई प्राथमिकता दिएछन्, एक दमै खुशी लाग्यो’, उनले भनिन्।

 

हर्मिताले साना गाडीहरु वर्षौँदेखि सडकमा कुदाएकी थिइन्। तर यति ठूलो बस पहिलो पटक चलाइरहेकी छन्। ठूलो गाडी चलाउँन कुनै असजिलो नभएको पनि उनले बताइन्।

 

‘हुन त साझा यातायात अरु गाडी भन्दा फरक छ। तर आत्मविश्वासले चलाउँदा कुनै गाह्रो नहुने रहेछ।’

 

उनलाई यात्रुहरुले यति ठूलो गाडी चलाएको देख्दा अचम्म मान्दै हेर्छन्। कतिपयले प्रोत्साहन पनि गर्छन्। धेरैले बधाई र धन्यवाद भन्छन्, उनलाई खुशी लाग्छ।

 

ट्राफिकले समातेको अनुभव

एउटै रुटमा काम गरेपछि केही समस्या हुने उनी बताउँछिन्। ‘ट्राफिक र चालकको काम सडकमै हुन्छ। यसरी एउटै क्षेत्रमा काम गर्दा कहिलेकाहिँ समस्या भोग्नु पर्छ।’

 

साझा यातायातको गाडी चलाउन थालेयता चार पटक ट्राफिक कारवाहीमा परेकी छन्। उनी भन्छिन्, ‘पहिलो पटक लगनखेलमा एक छिन पार्किङ गरेककी थिएँ। त्यसपछि ट्राफिकले लाइसेन्स हेर्छु ल, भन्नु भयो मैले दिएँ र उहाँले फिर्ता दिनुभएन।’

 

उनी थप्छिन्, ‘दुई दिनसम्म लाइसेन्स जफत गरेपछि पाँच सय रुपैयाँ जरिवान तिर्नु पर्‍यो।’

 

हर्मिताको दैनिकी

उनी बिहान ५ बजे उठेर घरको सबै काम सकाएर छोरीलाई तयार पारी ७ बजे होस्टल छोड्छिन्। त्यसपछि काममा निस्किएकी उनी राति ८ बजे घर पुग्छिन्। उनी भन्छिन्, ‘दिनभरि गाडी हाँक्यो हरेक यात्रुलाई उनीहरुको गन्तव्यसम्म पुर्‍यो तर आफू भने राति हिँडेर जानु पर्छ।’

 

‘हामी महिलालाई कमजोर सोच्ने समाजको सोचलाई परिवर्तन गर्न जरुरी छ। महिलाले म केही गर्न सक्दैनन् भन्ने गलत सोचलाई बदल्न जरुरी छ। महिलाले आफूले मन परेको काम गर्नुपर्छ। काम सानो ठूलो हुँदैन। मानिसको सोच सानो ठूलो हुन्छ। म केही गर्न सक्दिन भनेर हरेस खानु हुन्न’, हर्मिताले भनिन्।

 

लगनशीलता, सिक्ने इच्छा र केही गर्नु पर्छ भन्ने जोशले हर्मिता आज महिला चालकको रुपमा चिनिएकी छन्।

Comment Your Views

You may have missed