छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्, समाजले छुई भन्यो, बेसहारा भइन सुत्केरी

0

नेत्र शाही/जुम्लाखलङ्गा । कानुनी रुपमा छोरा छोरीबीचको विभेद बन्देज छ तर जुम्लामा यस्तो विभेद अहिलेसम्म पनि कम भएको छैन भन्ने कुराको उदाहरण बनेनको बुवाले छोरी जन्मेपछि श्रीमतीसँग गरेका व्यबहार ।बुधवार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ बर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माउनुभयो ।अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर श्रीमान वीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमति र छोरीको स्याहार सुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लाग्नुभयो ।

 

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान समेत कठिन भएको छ ।अस्पतालले एक दिन दुई दिन बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने करा भएन । वीरबहादुर बुधवार घर जाने भन्दै अस्पतालबाट बाहिरिनुभयो । काखमा १० दिनको बच्चा, बच्चासँगै कपडा र सामान वोकेर घरतिर जान खोज्दा शरीर काँपेर हिड्न नसक्ने अवस्था भएको पुतलीले बताउनुभयो । घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास माग्नुभएको थियो तर सुत्ेकरी छुई भएको भन्दै कसैले बस्न नदिएपछि उहाँ सदरमुकामको एक घरको गल्लीमा सुत्ने योजना बनाएको पीडा उहाँले सुनाउनुभयो ।

 

उहाँ गल्लीमा रोइरहेको समयमा माथिल्लो तलामा रहेको रेडियो नारी आवाजका कर्मचारीहरूले थाहा पाए । पत्रकार गीता शाही, स्टेशन म्यानेजर दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर आश्रय दिनुभयो । सुत्केरी अवस्थामा दिनभर खाजा समेत नपाएकी पुतलीलाई नारी आवाजले खाजा खुवाएको थियो । गोरखापत्रमा खबर छ ।