गृहमन्त्रालय को गाडी ‘लक’ गर्ने ट्राफिक प्रहरीलाई कारबाही

काठमाडौं – असार ११ गते सिंहदरबारको पूर्वी गेट अगाडि जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक जवानलाई कारबाही गरिएको छ । ‘ह्वील लक’ गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको हो ।

असार ११ गते गहृमन्त्रालयका दुई गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीमा महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान बुढा र कुमारले ह्वील लक गरेका थिए ।

पैदलयात्री हिँड्ने सडक किनारमा गाडी पार्किङ गरेर गृहका अधिकारी खाना खान गएका वेला उनीहरुले लग गरेका हुन ।

के हो विवाद

गृह मन्त्रालयका कर्मचारी खाना खाएर फर्किदा गाडीमा लक देखे । आफूहरु गृहको कर्मचारी भएकाले गाडीको लक खोल्न टिकारामलाई दबाब दिएका थिए तर उनले कानेन् । उल्टै उनले गाडीको कागजपत्र मागे । चालकले कागजपत्र दिन मानेनन् । ‘गृह मन्त्रालयको गाडी हो’ भन्दै ट्राफिक प्रहरीलाई उत्टै थर्काउन खोजे ।

ट्राफिक प्रहरीले कागजपत्र नल्याउँदासम्म गाडी नछाड्ने अडान राखे । केही समयको रस्साकसीपछि ट्राफिक महाशाखाबाट एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) को फोन आयो । त्यसपछि ट्राफिक प्रहरीका जवानले ह्वील लक गरेको गाडी बिना जरिवाना छाडिदिए ।

प्रहरी माथि नै कारबाही

यसरी नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयको गाडीलाई ह्वील लक गर्ने प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई काँग्रेस निकट नेपाल विद्यार्थी संघले १३ असारमा सडकमै दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

उनीहरु दुबै जनालाई सामाजिक सञ्जालमार्फत बधाई दिनको ओहिरो लागेको थियो । यसरी सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानलाई बधाई र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।

गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।

यसरी स्पष्टिकरण दिने क्रममा टिकाराम बेहोस भएका ट्राफिक प्रहरी श्रोतले बताएको छ । टिकारामलाई ट्राफिक महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले स्पष्टिकरण सोधेको पाइएको छ । स्पष्टिकरण सोच्ने क्रममा टिकाराम ढलेर अस्पताल नै भर्ना गर्नुपरेको एक ट्राफिक जवानले बताए ।

स्रोतका अनुसार टिकाराम बेहोस भएपछि उनीमाथि गर्ने भनिएको कार्बाही रोकिएको छ ।

तर, डिआईजी शैलेस थापाले भने गृहको गाडी लक गर्ने ट्राफिक प्रहरीमाथि कुनै कार्बाही नगरिएको दाबी गरेका छन् ।

Comment Your Views

You may have missed