थेग्नै नसक्ने गरी विद्यार्थी, एउटै कक्षामा नौ सेक्सन, वाह यस्तो पो सरकारी विद्यालय

११, जेठ २०७६

दमौली । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । कतिपय सरकारी विद्यालय विद्यार्थी कम भएर बन्द हुने अवस्थामा पुगेको वेला दमौलीस्थित सत्यवती माविमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ ।

 

विद्यार्थी धेरै भएपछि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले बताए ।‘विद्यालयले थेग्नै नसक्ने गरी विद्यार्थी आएपछि भर्ना अघि प्रवेश परीक्षा लिन थालेका छौँ,’ अधिकारीले भने, ‘बोर्डिङ स्कुलबाट समेत विद्यार्थी यतै आएपछि विद्यालयले धान्न नसक्ने अवस्था सिर्जना भयो ।बालबालिका र अभिभावकको चित्त बुझाउन प्रवेश परीक्षा सञ्चालन गरेका हौँ ।’

 

विद्यालयमा हाल दुई हजार चार सय ६८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कार्यरत सबैजसो शिक्षकले आफ्ना छोराछोरीलाई पनि सत्यवतीमै पढाएका छन् । यहाँ कार्यरत शिक्षकका छोराछोरी मात्र दुई सय १३ जना छन् । विद्यालयमा हाल ९९ शिक्षक कार्यरत छन् ।विद्यार्थी धेरै भएपछि कक्षामा सेक्सनसमेत थप गरिएको छ । कक्षा १० मा मात्रै नौवटा सेक्सन छुट्याइएको छ ।अन्य कक्षामा पनि विद्यार्थीको चाप बढेपछि छुट्टाछुट्टै सेक्सनको व्यवस्था गरिएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । उत्कृष्ट नतिजा, शैक्षिक वातावरण, कुशल प्रशासनको कारण अभिभावक र विद्यार्थीको आकर्षण बढेको पौडेलले बताए ।

एन पर्दा बाट साभार