नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै, विरोधमा बोल्न पाउने छैनन् नेकपा सांसदले

२२, बैशाख २०७६

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि संसदमा छलफल सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रबार सरकारका तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

 

प्रस्तुत नीति तथा कार्यक्रममाथि आइतबार बिहान ११ बजेपछि बस्ने संसद बैठकमा छलफल सुरु हुने कार्यसूचि छ ।

 

बैठकमा विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईसहितले बोल्ने तयारी छ । नीति तथा कार्यक्रम वैशाख २४ गते अर्थात मंगलबार पारित गर्ने सरकारको तयारी छ ।

 

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले प्रयोग गरेको भाषालाई लिएर विवाद भएको छ । सत्तारुढ दल भित्रैका सांसदहरुले पनि त्यसको कडा आलोचना गरेका छन्

 

। राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ भनेकी थिइन् । यसको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हल्का प्रतिक्रिया दिएका छन् । बेलायतकी महारानीले पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क प्रधानमन्त्री ओलीको छ ।

 

यसैबिच पार्टीकै सांसदले विरोध गर्न सक्ने सम्भावना भएपछि नेकपाले नीति तथा कार्यक्रममाथि हुने विरोधको आवाज निकाल्न नपाउने गरि आफ्ना सांसदलाई रोक लगाएको छ । देेेश सञ्चार बाट