सबै वैज्ञानिकलाई बधाई दिदै प्रधानमन्त्री ओलीले भने- नेपाल अन्तरिक्ष युगमा प्रवेश

५, बैशाख २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका हुन् । प्रधानमन्त्री ओली ले ट्वीट गर्दै स्याटलाइट निर्माणदेखि प्रक्षेपणको कार्यसम्म संलग्न सबै वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।

 

यसबाट नेपालको प्रतिष्ठा बढेको ओलीले बताएका छन् । सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइए पछि विश्वभर छरिएका नेपाली हरूले पनि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राखिरहेका छन् । बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ ।

 

यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ । यसबाट नेपालले आफ्नो भू-भागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए । सिधा कुरा बाट