प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच नेपाली कामदार लैजाने विषयमा छलफल

२६, पौष २०७५

काठमाडौं, २६ पौष : जापानी विदेशमन्त्री तारो कोनोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन्।

 

नेपालको दुई दिने भ्रमणमा रहेका कोनो ५६ बर्षअघि (सन् १९६३) मा आजकै दिन (जनवरी १०) मा जन्मेका थिए।

 

प्रधानमन्त्री निवास बालुवाटारमा भेट हुनासाथ ओलीले फूलको गुच्छा दिएर ५६ औँ जन्मदिनको शुभकामना व्यक्त गरेका थिए।

 

‘प्रम ओलीले उहाँलाई जन्मदिनको शुभकामना दिनुभयो’ प्रम ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले भेटवार्ताबारे जानकारी गराउँदै भने।

 

त्यसपछि प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच द्विपक्षीय मामिलाका विषयमा कुराकानी भएको थियो।

 

परराष्ट्रमन्त्री स्तरमा हिजो भएको सहमतिका विषयमा जापानी विदेशमन्त्रीले ओलीलाई जानकारी गराएका थिए।

 

बिहीबार भएको मन्त्रीस्तरीय वार्तामा दुई देशबीच सिधा हवाई सम्पर्कका लागि सम्झौताका कागजपत्र आदानपत्र प्रदान गरिएका थिए।

 

‘त्यसै विषयमा जापानी परराष्ट्रमन्त्रीले प्रम ओलीलाई जानकारी गराउनुभयो’ सल्लाहकार डा भट्टराईले भने।

 

जापान नेपालको सबैभन्दा ठूलो दाता राष्ट्र भएको, उसले सिन्धुली–बर्दिबास राजमार्ग निर्माण, कोटेश्वर–सूर्यविनायक–धुलिखेल मार्ग विस्तार, सीतापाइला–नागढुङ्गा सुरुङ निर्माणमा जापानको सहयोग रहेको बताउँदै कृषि क्षेत्रमा सहयोगका लागि जापानले गर्न सक्ने सहयोगको बिषयमा सकरात्मक कुराकानी भएको जानकारी पनि उनले दिए।

 

जापानले विभिन्न ९ मुलुकबाट आफ्नो देशमा श्रमिक आयात गर्ने नीति लिएको र त्यसमा नेपाललाई पनि पारेकोमा प्रम ओलीले धन्यवाद दिएको जानकारी पनि उनले दिए।

 

डा भट्टराईका अनुसार नेपाली श्रमिक जापान लैजाने विषयमा छलफलका लागि एउटा जापानी टोली अर्काे हप्ता काठमाडौँ आउँदैछ।

 

त्यो टोलीसँग नेपाली पक्षले वार्ता गर्ने र मार्च (फागुन–चैत्र) सम्ममा कानूनी प्रक्रिया पुरा हुने जानकारी दिँदै डा भट्टराईले अप्रिल (चैत्र–बैशाख) सम्ममा नेपाली कामदार जापान जाने कानूनी बाटो खुल्ने जानकारी दिए।

 

अघिल्लो महिना जापानले एक कानून पारित गर्दै विभिन्न ९ देशका करिब साढे तीन लाख कामदार लैजाने बाटो खुला गरेको थियो।