अछाममा मेयरले गरे सार्वजनिक जग्गा कब्जा : अख्तियारमा पर्यो उजुरी

७, असार २०७५

अछाम । जिल्लाको कमलबजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टले करोडौंको सार्वजनिक जग्गा लामो समयदेखि कब्जा गरि व्यक्तिगत रुपमा उपयोग र बेचबिखन गर्दै आइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

 

२०४५ सालदेखि कमलबजारस्थित वागेश्वरी साझा संस्था लिमिटेडका अध्यक्ष समेत रहेका विष्टले सोही संस्थाको नाममा रहेको कित्ता नं. ११४७ को ३ रोपनी १४ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा कब्जा गरेको बुझिएको छ । उनले सो जग्गा पटकपटक बैंकमा धितो राखेर ऋण लिएर व्यक्तिगत उपभोग गरेको साथै जग्गाको केही अंश विभिन्न व्यक्तिहरुलाई बेचविखन समेत गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

 

उजुरीका साथ पेश गरिएका कागजातहरु हेर्दा विष्टले विभिन्न समयमा कृषि विकास बैंक अछामबाट उक्त संस्थाको नाममा रहेको जग्गा धितो राखी ऋण लिएको र किस्ता एवम् ब्याज समेत बुझाउदै आएको देखिएको छ । तर अछाम जिल्लामा केही समयअघि भएको जग्गा नापीको समयमा निज विष्टले उक्त संस्थाको कागजात लुकाइ आफ्नै नाममा जग्गा नापी गरेको स्थानीयहरुले आरोप लगाएका छन् । सो विषयमा जिल्ला नापी कार्यालयमा स्थानीयहरुको गुनासो पुगेपछि कार्यालयले हालसम्म उक्त जग्गाको लालपूर्जा नदिएको बुझिएको छ ।

 

विष्टले २०४७ सालमा जग्गा धितो राख्ने क्रममा निवेदन गरेपछि कृषि विकास बैंक उपशाखा मंगलसैनले मालपोत कार्यालय मंगलसैनलाई २०४७ भदौ १९ गते ‘घरजग्गाको सिफारिश पठाइ जग्गा रोक्का समेत गरिदिने बारे’ विषयमा लेखिएको पत्रले उक्त जग्गा वागेश्वरी साझा संस्था लिमिटेडको नाममा रहेको पुष्टि गर्दछ । त्यस्तै, उक्त पत्रको प्रत्युत्तर सहित ‘धितो दिने घरजग्गाको सिफारिश र रोक्का गर्न बारे’ भनी मालपोत कार्यालयले समेत आफ्नो चलानी नम्बर १०२, पत्र संख्या ०४७÷०४८ को पत्र कृषि विकास बैंक अछामलाई पठाएको भेटिएको छ ।

 

उल्लेखित प्रमाणहरुका आधारमा उक्त जग्गा वागेश्वरी साझा संस्था लिमिटेडको नाममा रहेको र मेयर विष्टले उक्त सार्वजनिक सम्पत्तिको चरम हिनामिना गरेको भन्दै गत असार ४ गते ‘सचेत नागरिक’ को नामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा मुद्दा दायर गरिएको हो । मुद्दामा उल्लेख भएअनुसार सो जग्गाको बेचविखनमा हाल विष्ट निकै सक्रिय भएको र जग्गामा विभिन्न व्यक्तिहरुले घर निर्माण समेत गरिरहेका छन् । कमलबजार नगरपालिका वडा नं. २ का वर्तमान वडाअध्यक्ष तेजबहादुर विष्टले घर निर्माण गरिसकेको, सोही नगरपालिका निवासी पुष्पराज अधिकारीले घर निर्माण गर्दै गरेको र स्रोत व्यक्ति समेत रहेका सोही नगरपालिकाका खडक प्रसाद अधिकारीले घडेरी किनेको उजुरीमा उल्लेख छ ।